२०२७/०२८ सालतिरको कुरो हो, जब म ४–५ वर्षको उमेरमा शिशु क्लास पढ्ने विद्यार्थीको रूपमा दाजु दिदीहरूको साथ लागेर स्कुल जाने आउने गर्न थालिसकेको थिए । त्यसबेला ठुलाहरूले भनेको सुन्थेँ ‘हाम्रो भद्रपुर सहर धेरै पुरानो सहर’ रे ! मलाई साह्रै अचम्म लाग्दथ्यो– यो सहर कसरी पुरानो ? भनेर । पूर्वमा भारतको बिहार र उत्तरमा बङ्गाल राज्यसँग सिमाना जोडिएको, नयाँ बजारदेखि सगरमाथा (लालमाटी) छेउछाउसम्म जम्माजम्मी ३–४ वर्ग किलोमीटरमा फैलिएको, भद्रपुरलाई म त बच्चा उमेरदेखि नै एकदमै नयाँ सहरको रुपमा देख्थेँ । हो इतिहास पुरानो थियो होला, तर मलाई मेरो सहर सधैँ नयाँ झकिझकाऊ लाग्दथ्यो त्यस बेला । मलाई मेरो भद्रपुर सहर नयाँ लाग्ने एउटा सबैभन्दा ठुलो कारण थियो– भद्रपुर बजार भित्र बल्ने झिलिमिली बिजुली बत्ती ।
घरका ठुला मान्छे सबेरै उठे पनि हामी केटाकेटीहरू बजार भित्र अवस्थित ठुला–ठुला भव्य राइस मिलहरूको चर्को साइरन (सिटी) को आवाज कानमा परेर उठ्ने गथ्र्यौँ । त्यो साइरन (सिटी) एक डेढ मिनेट लामो एकोहोरो बज्ने गथ्र्योे । राइस मिलको त्यो कर्कस साइरन मिलमा काम गर्ने मजदुरलाई काममा आउने, जाने, खाजाको समय, खानाको समय आदि विभिन्न जनाउ दिनको लागि बजाउने गरिँदो रहेछ । यस्तै प्रकारको अर्को सिटी बोर्डर भारतको गलगलीया बजारमा रेल आउँदा पनि कराएको सुनिन्थ्यो । रेलको छुक् छुक् आवाजको साथमा रेलले फुकेको सिटी र राइस् मिलको त्यो एकोहोरो सिटी (साइरन) हामी केटाकेटीलाई बिहान र दिउँसो रमाइलो लागेपनि राती सार्है डरलाग्दो सुनिथ्यो ।
यस्ता राइस मिलहरू मध्ये मुख्यतः चिरञ्जीवी, गुप्ता, डी.बी. (भाँगा), सुरजमल, भवानी शंकर, सोहनलाल, एम.एन. , जगन्नाथ, हिमालय, के. एम., सगरमाथा नामक राइस मिल लगायत दर्जनौँ थिए । ती राइस मिलहरूबाट उसिना चामल उत्पादन त हुन्थ्यो नै, सहायक उत्पादनको रुपमा बिजुली–बत्ती पनि उत्पादन हुँदो रहेछ । राइस मिलमा खपत भई बढी भएको बिजुली सहरभित्रका व्यापारी उद्योगीका घरमा साथै खम्बा र तारको माध्यमबाट बजारको सिरान भागदेखि सङ्गम चोकसम्म बाटोमा समेत बत्ती बालेर सहर उज्यालो र झलमल्ल बनाइएको थियो ।
दर्जनौँ राइस मिल भद्रपुर बजार भित्रै थिए । त्यसै गरी २५ –३० का हाराहारीमा साना–ठुला काठ मिलहरू पनि थिए । ‘घडी बिँडी’ ब्रान्डको बिँडी फ्याक्ट्री लगायत २–३ वटा अरु पनि बिँडी फ्याक्ट्रीहरू थिए । बजार बाहिर जोडिएर बसेका बुधकरण टी स्टेट, मित्तल टी स्टेट आदि ठुला चिया बगानहरू रहेका कारणले यो सहर एउटा ठुलो औद्योगिक सहरका रुपमा स्थापित भएको थियो । चामल, काठ लगायतका वस्तुहरू भद्रपुरबाट भारततर्फ निकासी हुन्थे । लत्ता कपडा, खाद्य पदार्थ, औषधि आदि भारत तिरबाट आयात हुने गथ्र्यो । त्यसबेलाको अवस्थामा भद्रपुर नाकाबाट भारत तर्फ आयातभन्दा नियार्त नै बढी हुन्थ्योे रे । भद्रपुरको भन्सार नाका निकै चल्तीको थियो धेरै समय पछिसम्म । ५ बजेपछि एउटा चौकीदारलाई अफिस छोडेर भन्सार कार्यालय बन्द गरी कर्मचारी सबै घर जान्थे रे । अनि काउन्टरमा एउटा खुत्रुके वाला बाकस राखिदिएको हुन्थियो रे । त्यस बाकसमा ५ बजे पछि कोही व्यापारी भारततिरबाट समान लिएर आयो भने भन्सार तिर्नुपर्ने पैसा र समानको विवरण त्यस भित्र खसालेर समान लिएरै जान्थे रे । अनि भोलिपल्ट आएर भन्सारको प्रज्ञापन पत्र र नगदी रसीद काटेर लान्थे रे भन्ने सुनेका थियाँै हामीले । कति विश्वासिला र इमान्दार थिए त्यसबेलाका व्यापारी र कर्मचारी दुवै । रामराज्य थियो त्यो बेलाको भद्रपुर भनेर बुझ्न सकिन्छ यो कुराले । भद्र र इमान्दार मानिसहरूको बसोबास भएको सहर भएकोले नै यो सहरको नाम भद्रपुर राखिएको हो भन्ने भनाई नै छ ।
भद्रपुरमा बाहुन, क्षत्री, मारवाडी, नेवार, राईलिम्बू, बङ्गाली, राजवंशी, सतार, मेचे आदि सबै जातजातिहरूको बसोबास थियो । मुख्य बजारभित्र मारवाडी समुदायको उद्योग घन्दा ,व्यापार व्यवसाय लगायत बसोवास समेत थियो । अन्य जातिहरू खेतीपाती, सरकारी जागिर मै धेरै थिए । व्यापार व्यवसायमा मारवाडी समुदायको तुलनामा अन्य जातिहरू धेरै कम मात्रामा थिए । त्यो भद्रपुर बजार अत्यन्तै आकर्षक र आवश्यक थियो सबैका लागि । वल्लो कुनादेखि पल्लो कुनासम्म मारवाडीका कपड़ा दोकानदेखि, बङ्गालीले खोलेका होटल, फलामका लगायत भाँडाकुँडाका गल्ली, ठुला र भव्य राइस मिलहरू । सहरभित्र र बाहिर आँप लिच्ची आदिका थुप्रै बगैँचा । मेची र देउनीय खोला पौडी खेल्नेहरूका लागि ठुलो वरदान कै रुपमा प्राप्त थियो । खुबै मज्जाको जादु नगरी जस्तो लाग्दथ्यो मलाई हाम्रो भद्रपुर । हामी केटाकेटीमा धेरै चोटि घरबाट बुवाआमाका आँखा छलेर जान्थ्यौं साथीभाईसँग बजार घुम्न । केटाकेटीदेखि नै अर्को आकर्षणको केन्द्रबिन्दु थियो हाम्रो लागि सिनेमा हल । भद्रपुरको पहिलो सिनेमा हलको नाम कमल टाकिज थियो रे जनता चोकमा । मलाई अलि धमिलो सम्झना छ त्यो सिनेमा हलको । त्यो बन्द भएपछि गंगा चित्र मन्दिर नामको सिनेमा हल खुल्यो अझ बजारको नजिक । त्यो हल खुलेदेखि सिनेमा हेर्न थालेको बाक्लो सम्झना छ मलाई । त्यो पनि किन हो बन्द भयो । त्यही हलमा पछि फेरि पद्म चित्र मन्दिर नाम राखेर अर्को व्यक्तिले निकै लामो समयसम्म फिल्म हल चलाएका थिए । पद्म चित्र मन्दिर सिनेमा हल सुरु हुनु पहिलबिचमा एकपल्ट भद्रपुर स्थित धाख्वा मैदानमा १ महिनाको लागि वीरेन्द्र राजाको राज्याभिषेक ताका पारेर ठुलो मेला लाग्यो । त्यो मेलामा मखन टुरिङ टाकिज र अर्को दुर्गा चित्र मन्दिर भन्ने २–२ वटा फिल्म हल आएर भद्रपुरवासीलाई नयाँनयाँ हिन्दी सिनेमाको स्वाद चखाएर गए । ती हलहरू त्रिपाल र बाँसबाट बनेका खरको छानो भएका अस्थायी प्रकृतिका थिए । ती मध्ये मखन टुरिङ टाकिज चैँ मेला सकिएपछि पनि निकै लामो समय फिल्म हल सञ्चालन गरेको बसेर थियो । हामी हल हाउसफुल भएर टिकट नपाएर फिल्म हेर्न नसकेका बेला सिनेमा हलको भित्ता भरी टाँसिएका पोष्टर मात्र हेरेर पनि मनोरञ्जन लिन्थ्यौँ । मैले पनि सानै उमेरदेखि हिन्दी बोल्न सिकेको हिन्दी फिल्म हेरेर नै हो । ती सबै फिल्महरू आआफ्ना समयमा सबै उमेरका सिनेमा पारखीका लागि राम्रा उपहारहरू थिए ।
भद्रपुर संगम चोकमा खड्का परिवार द्वारा संचालित ‘संगम होटल’ साह्रै प्रख्यात थियो कुनै जमानामा । होटल त बजारमा अरु पनि थिए । तर यो होटल अलिक आधुनिक ढङ्गले खोलेको कारणले हुनसक्छ त्यसबेला निकै चर्चित थियो । यहाँ मिठाई, सिंगडा (समोसा), माछामासु, खाना आदि धेरै कुरा पाइन्थ्यो । त्यो होटलको प्रशिद्धीको बेला ‘रूप तेरा मस्ताना, संगम होटलका रसदाना....’ भन्दै आराधना फिल्मको गीत रिमेक भएर भद्रपुरका केटाकेटी र युवा माझ खुबै गुन गुनाईएको सुनिन्थ्यो ।
एउटा सहर हुनका लागि सबै कुरा थिएन होला तर धेरै कुरा थिए आजभन्दा ५० वर्ष अघिको भद्रपुरमा । भद्रपुर मा. वि ., शारदा, गौतमबुद्ध, नमूना आदि नामका स्कुलहरू बजार वरपर नै थिए । वीरेन्द्र मा. वि. चन्द्रगढीमा थियो । जो हाल भद्रपुर नगरपालिकाभित्र पर्दछ । मेची महाविद्यालय भनेर कलेज त्यसबेला नै खुलिसकेको थियो । सो कलेज हाल मेची बहुमुखी क्याम्पसमा परिणत भएर सञ्चालनमा छ । मन्दिर, मस्जिद, गुम्बा, धर्मशाला, गौशाला आदि सुरुवाती दिनदेखि नै भद्रपुरको सुन्दर गहनाका रुपमा थिए । मेडिकल कलेज खोल्न मिल्ने जग्गा जमीन र भव्य भवन सहितको हस्पिटल उहिल्यैदेखि थियो । स्वस्छ खानेपानीको लागि सगरमाथा चोकमा खानेपानी आयोजना सञ्चालनमा थियो ।
अन्य पसलहरू पनि बजारमा प्रसस्तै भएपनि विदेशी समान सरकारी स्रोतबाट सस्तो मूल्यमा किन्न पाउने गरी नेसनल ट्रेडिङ लिमिटेडको अफिस भद्रपुरको संगम चोकमा थियो ।
मन्दिरहरू दर्जनौँको सङ्ख्यामा सहर भरी थिए । नगर पञ्चायतको अफिस छेउ मुस्लिम समुदायको मस्जिद थियो । नयाँ बजार छिर्ने बाटोको दाहिने पट्टी एउटा आकर्षक आँप बैगैँचाभित्र बौद्ध गुम्बा थियो । समाजसेवा गर्नुपर्छ भन्ने भावनाले विभिन्न संघसंस्थाहरू सक्रिय थिए । गाईको संरक्षणको लागि नयाँ बजारमा एउटा गौशाला थियो । यात्रीका लागि बास बस्न साथै विभिन्न कार्यक्रम गर्न धर्मशाला थिए । जेसिज लगायतका अन्य केही क्लबहरूद्वारा विभिन्न कार्यक्रमहरू भईरहन्थे बेला बेलामा । वर्ष दिनमा लाग्ने अत्यन्तै ठुलो किच्चक बध मेला ठुलो आकर्षणको केन्द्रबिन्दु हुन्थ्यो हामी सबैका लागि । त्यो मेला घुम्न जान महिना दिन अघिदेखि नै सल्लाह र तयारी गथ्र्यौँ हामी साथीभाईहरू । साथै पटक पटक धाख्वा मैदानमा लाग्ने मेला, सर्कस, जादु आदिले थप मनोरञ्जन दिन्थ्यो भद्रपुरलाई । सांस्कृतिक कार्यक्रमहरू बालमन्दिरको हलमा प्रशस्तै भइरहन्थे । देशभरिका कलाकार साथै रेडियो कलाकारहरूलाई हामीले यही कार्यक्रम गर्न आउँदा देख्ने सुन्ने गरेका थियौँ । यी मन्दिर, मस्जिद, गुम्बा, गौशाला, धर्मशाला आदि अहिले पनि जे जस्तो अवस्थामा भएपनि अस्तित्वमा देख्न सकिन्छ । होली, सरस्वती पूजा, दुर्गा पूजा, दशैँ, तिहार अत्यन्तै भव्य र सभ्य रुपमा मनाइन्थ्यो । २०१० साल तिरै ‘केटो’ नामको अञ्चल भरिकै पहिलो पत्रिका निस्किएको थियो रे स्व. श्यामकृष्ण उपाध्यायको अग्रसरतामा । पञ्चायती राजनीति गर्ने पञ्चहरू खुलेआम राजनीतिमा देखिन्थे भने इतर राजनैतिक व्यक्तिहरू सहर भित्र र बाहिर प्रसस्तै थिए । जसको प्रभावले सहरका सबै युवा, वयस्क, वृद्धहरूमा चेतना थोर बहुत ल्याएको थियो । एकदिन भद्रपुरको सगरमाथा (लालमाटी) चोकमा एउटा २ तल्ले काठको घर आर्मीहरूले घेराउ गरे । त्यो घरमा आर.के. मैनाली हो या सीपी मैनाली बसेर कलेज पढ्नु हुँदो रहेछ । झापा विद्रोह नामले चर्चित कम्युनिस्ट आन्दोलन छानबिनको क्रममा त्यो घर घेराउमा परेको रहेछ । २–३ घण्टा पछि आर्मीहरू त्यहाँबाट हिँडे । मेरो घरको आँगनबाट म यी सबै कुरा चाख पूर्वक नियाली रहेको थिएँ । पछि त्यसबेलाको कम्युनिस्ट आन्दोलनको बारेमा अग्रजहरूबाट थोर बहुत बुझ्ने मौका पाएको थिएँ । कम्युनिस्ट आन्दोलनको निकै जगजगी थियो झापामा २८ साल तिर । ठुला मान्छेहरू ले कानेखुसी गफ गरेका आधारमा कम्युनिस्ट आन्दोलनको बारेमा धेरै कुरा बुझ्ने मौका पाइन्थ्यो । कांग्रेसी राजनीतिको बारेमा त मेरो घर परिवार नै सिङ्गो स्कुल नै थियो मेरा लागि । मैले बाहिरबाट बुझ्नै पर्दैनथ्यो । मेरो काका दिव्य भुर्तेल, दाजु शिव भुर्तेलहरू उसैबेला काँग्रेसी राजनीति गरेको कारण जेल पर्नु भएको थियो । त्यस्तै काका गोपाल भुर्तेलले राष्ट्रिय वाणिज्य बैंकको जागिर गुमाउनु परेको थियो । यी त केही उदाहरणहरू हुन् । यी लगायत थुप्रै कारक तत्व थिए भद्रपुरमा राजनैतिक चेतना फैल्याउने । मेची क्याम्पस अर्को चेतनाको स्रोत थियो । भद्रपुर त्यस बखत नै राजनीतिक केन्द्र बिन्दु पनि थियो ।
भद्रपुरमा हवाई अड्डा थियो । काठमाडँैं र बिराटनगर जाने यात्रुहरूले भद्रपुरबाट प्लेनको सुविधा पाएका थिए । बजारको आर्थिक गतिविधि, स्कुल कलेज, हस्पिटल, एयरपोर्ट, साहित्यिक, सांस्कृतिक, राजनैतिक सबै कारणले हामी केटाकेटी छँदासम्म अत्यन्तै सानदार थियो भद्रपुर बजारको रौनक । तर जब जब हामी वयस्क हुन थाल्याँ,ै समयले पनि कोल्टे फेर्न थाल्यो र यो सहरको शानसौकत क्रमशः घट्न थाल्यो । त्यसका केही कारणहरू म यहाँ छोटकरीमा प्रस्ट्याउने प्रयास गर्दछु ।
महेन्द्र राजमार्ग बिर्तामोडबाट भद्रपुरतर्फ नमोडिएर सिधै काँकडभिट्टा पुगेर टुंगिएपछि भद्रपुर सुक्न थाल्यो । काँकडभिट्टाबाट भारतको पश्चिम बङ्गालतिर पस्ने नाकाको मेची खोलामा पक्की पुल बन्यो । अब आयात निर्यातको लागि सजिलो भन्सार नाका त्यो बन्न पुग्यो । सरकारी संस्थानको रुपमा मेची धान चामल कम्पनी भद्रपुरमा खुल्यो । जसले आफैँ धान चामल भारत निकासी गर्न थाल्यो । व्यापारी, उद्योगीको हातबाट धान र चामलको व्यापार खुम्चियो । राइस मिलहरू पनि क्रमशः बन्द हुन थाले । सरकारले कसरी व्यापार गर्न सक्थ्यो र ! भ्रष्टाचार र राजनीतिक कारणले त्यो धान चामल कम्पनी केही वर्षपछि बन्द भयो । यही कम्पनी खुलेको कारणले भद्रपुरका मारवाडी व्यापारीहरूले गरिआएको धान चामलको व्यवसाय र राइस मिल उद्योगहरू धरासायी बनेका थिए ।
भद्रपुरका धेरै व्यापारीहरू क्रमशः धुलावारी, बिर्तामोड, काठमाडौँ लगायतका स्थानमा गएर व्यापार विस्तार गर्न थाले । भद्रपुरको आर्थिक गतिविधिहरू दिनप्रतिदिन सुक्दै जान थाल्यो । बैंक लगायतका सरकारी संस्थानहरू पनि भद्रपुर छाड्दै महेन्द्र राजमार्ग तिरका नयाँ विकसित हुँदै गरेका बिर्तामोड लगायतका सहरतर्फ सर्न थाले । नयाँ कुनै उद्योग धन्दा, व्यापार व्यवसाय, संघसंस्था खोल्न ईच्छा गर्नेहरूका लागि भद्रपुर छनौटमै नपर्ने अवस्था सिर्जना भयो ।
भद्रपुरमा मेची पुल नभएर यस्तो नराम्रो अवस्था भएको भन्नेहरूको जमात पनि ठूलै थियो । यद्यपि मेची पुलको लागि पहल स्थानीयले धेरै पहिलेदेखि नै गर्दै आउनु भएको कथाहरू हामीले सुनेकै थियाँै । फेरि एकपल्ट पुलको लागि जोड तोड चर्चा र प्रयास गर्न थालियो । तर समय तिब्र गतिमा सकारात्मक तरिकाले महेन्द्र राजमार्गतर्फका सहरहरूतिर आकर्षित हुन थालिसकेको थियो । भद्रपुरको कुनै जोड चलेन र थाकेर सिथिल भयो ।
२७÷२८ साल तिरको भद्रपुर सहर कता हरायो हरायो । केही वर्ष पहिले भद्रपुरमा मेची पुल त बनेको छ, तर त्यो पुरानो समयको सान, सौकत फेरि फिर्ता होला भन्ने कुरामा सजिलै विश्वास गर्न सकिँदैन । सहरमा व्यापार व्यवसाय गर्ने युवाहरू गाउँ घर मात्र होइन मुलुक नै छोडेर हिँडिसकेको अवस्था छ अहिले । हो नयाँ नयाँ चिया बगानहरू चै अहिले धेरै खुलेका छन् भद्रपुरमा । राम्रा होटल रेस्टुरेन्टहरू पनि देखिन्छन् । भद्रपुरको एयरपोर्ट दैनिक दर्जनौँ प्लेन आवत जावतले भिडभाड युक्त नै देखिन्छ । केही उत्साहित युवाहरूको जमात ‘हाम्रो भद्रपुरको लागि केही गरौँ भनेर जुर्मराएका देखिन्छन् । तर सबै वातावरणको चुरो राजनीति मै गएर हलो अड्किएको जस्तो देखिन्छ । गरौँ भन्ने जमातले पनि अस्थिर राजनीतिको कारणले कुनै कुरामा गति लिन सकेको देखिदैन ।
एकपल्ट बिचमा २०५०÷ ०५२ साल तिर भद्रपुर फेरि नयाँ गतिमा हिँड्न थालेको पनि देखियो । भुटानी शरणार्थीलाई व्यवस्थित गर्न दर्जनाँै एनजीओ÷आइएनजिओहरू भद्रपुरमा आए । ढकाल परिवारको सक्रियतामा मोमेन्टो एपरेल्स् नामक गार्मेन्ट उद्योग खुल्यो, जुन त्यसबेला नेपाल कै सबैभन्दा ठुलो गार्मेन्ट उद्योग मानिन्थ्यो । त्यो उद्योग सानदार तरिकाले चलेको थियो । वर्षौंदेखि बन्द भएको एयरपोर्ट फेरि सुरु भयो । आर्थिक गतिविधिहरू थोर बहुत भएपनि चलायमान देखियो । तर यो धेरै वर्ष टिकाउ हुन सकेन । आइएनजिओहरू भद्रपुर छाडेर दमक तिर लागे । केही प्रोजेक्ट बन्द गरेर नै हिँडे । हजारौँ मजदुर र कमर्चारीलाई रोजगारी दिएर चलिरहेको गार्मेन्ट उद्योग पनि विविध कारणले बन्द हुन पुग्यो ।
आज पनि भद्रपुरमा सहरमा हुनुपर्ने सबै कुरा छ, जे जस्तो अवस्थामा भएपनि । पहिलेको सानो भद्रपुरको सिमाना अहिले तन्किएर दक्षिणमा कचनकवलदेखि उत्तरमा पुहाँतुबारी हुँदै अझै परसम्म र पश्चिममा देउनीया खोलाको पुलसम्म लमतन्न तन्किएको छ । पूर्वमा त मेची खोला भइहाल्यो । केही गरौँ भन्ने भावनाले प्रेरित भएका युवाको जमात छ । एक से एक राजनीतिज्ञहरू छन्, बुद्धिजीवी छन् । पुँजी लगाउन सक्ने ठुलो जमात पनि छ । अबको दिनमा अलिकति राजनीतिक वातावरण राम्रो अवस्थामा आउन सक्यो भने फेरि पनि हाम्रो सहर एकपटक गुल्जार हुनेछ र त्यसलाई कायम राख्दै नयाँ पुस्तालाई सहर हस्तान्तरण गर्दै जाने वातावरण बन्नेछ भन्ने कुरामा हामी सबै आशावादी बनौँ ।
मितिः २०८० चैत्र ।
(वीरेन्द्र मा.वि. अल्मुनाईका अध्यक्ष, भद्रपुर सरोकार समाज काठमाडौँका सदस्य, भद्रपुर क्याम्पसमोडका मुलनिवासी श्री भुर्तेल काठमाडौँमा लेखापरीक्षण व्यवसायमा आवद्ध हुनुहुन्छ ।)